नेपाल एयरलाइन्सलाई कोरियामा सेवा थाल्न ‘फलामे ढोका’

Image result for nepal airlines

९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सलाई दक्षिण कोरियामा सेवा थाल्न हवाई सुरक्षा परीक्षण (सेफ्टी अडिट) को ‘फलामे ढोका’ पार गर्नुपर्ने भएको छ । नेपाली एयरलाइन्सहरु युरोपियन युनियन (ईयू)को कालोसूचीमा परेका कारण कोरियाले नेपाल एयरलाइन्ससहित नेपालको सेफ्टी अडिट गर्न चाहेको छ ।

यसलाई उड्ययन अधिकारीले नेपाली हवाई सेवाको ‘आइरन गेट’ मानेका छन् । किनभने कोरियाको हवाई सुरक्षा नीति संसारकै कडा मानिन्छ ।

दुईवटा वाइडबडी एयरबस ल्याएपछि नेपाल एयरलाइन्सले जापान र कोरिया उडान गर्न चाहे पनि ईयूको कालोसूचीका कारण नै समस्या भएको छ ।

कोरियामा नेपालले उडानका लागि उडान अनुमति पाएको छैन । युरोपियन युनियनको कालोसूचीका कारण उडान अनुमति पाउन केही समय लाग्ने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम कोरियाको हवाई सुरक्षा नीति विश्वकै सबैभन्दा कडा हुने बताउँछन् । अब कोरियाली उड्डयन अधिकारीको टोली एकपटक नेपाल आएर नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेपछि मात्रै अनुमति पाइने अवस्था छ ।

‘कोरियामा अनुमति पायौं भने ईयूको कालोसूचीबाट निस्कन पनि सहज हुन्छ । यसले हामी सुरक्षामा कमजोर छैन भन्ने स्पष्ट सन्देश दिन्छ,’ गौतमले भने ।

कोरियाको उड्डयन नियामक निकायको टोली नेपाल एयरलाइन्सको सुरक्षा अडिट गर्न नेपाल आउन तयार पनि भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अडिटको गाइडलाइन्स कोरियाले पठाएको छ । त्यो गाइडलाइन्स नेपाल एयरलाइन्समा पुगिसकेको छ । यसअनुसार अगस्टको अन्तिममा कोरियाली टोली नेपाल आउने तय भएको छ ।

नेपाल वायुसेवा निगमको दुबै वाइडबडीले पुरानाा गन्तब्यहरुमा उडान थालेका छन् । एयरबस ३२० ‘अन्नपूर्ण’ले दोहा र मकालुले बैंककबाट उडान सुरु गरेका छन् ।

अब गन्तब्य विस्तार गर्दै लैजाने योजना छ । निगमले उडान अनुमति नपाएपछि कोरियामा ग्लोलब सेल्स एजेन्ट नियक्ति गरिसेकेको छ । एजेन्टले टिकेटिङ र मार्केटिङको जिम्मा लिन्छन् ।

तीन वटै नयाँ गन्तब्यमा निगमले सीधा उडान थाल्न लागेको हो । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।

नयाँ वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ । दुई वाइडबडी उडाउन निगमलाई तत्काल २८ जना पाइलट आवश्यक रहेको ठहर पनि निगमले गरेको छ । ठूलो संख्यामा पाइलट चाहिने भएपछि निगमले विदेशी पाइलटहरु नियुक्ति गरिरहेको छ ।

वाइडबडी उडाउन दुईजना पाइलट आवश्यक पर्छ । लामो गन्तब्यमा उडान भर्दा एकतर्फी मात्रै उडान गर्नुपर्ने अवस्थाका कारण निगमलाई ठूलो संख्यामा पाइलट आवश्यक भएको हो ।

२७४ सिटेको वाइडबडीमा झण्डै १० जनाको ‘क्र्यु’ चाहिन्छ । फ्लाइटको दूरी, समय र अकुपेन्सीका आधारमा यो संख्या घटबढ हन्छ ।

वाइडबडीलाई कम्तिमा ९० सिट ‘अकुपाइ’ हुँदा लागत उठेर नाफा प्राप्त हुन्छ । त्यसैले अकुपेन्सी बढाउने गरी विभन्न योजना बनाउने गृहकार्यमा निगम छ ।

source onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *